आदिवासी जनजातिहरुको संस्कार र संस्कृति सम्बन्धी वृत्तचित्र प्रदर्शनी – २०७९

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजातिहरुको संस्कार र संस्कृति सम्बन्धि एक दिने वृत्तचित्र प्रदर्शनी-२०७९ यही मिति: २०७९ असार ०८ गते, बुधबार नेपाल पर्यटन बोर्ड, प्रदर्शनी मार्ग, काठमाडौमा आयोजना गरिएको थियो ।

प्रतिष्ठानले अमूर्त सांस्कृतिक सम्पदा संरक्षण कार्यक्रम अन्तर्गत तयार पारिएका विभिन्न आदिवासी जनजातिहरुको अमूर्त सांस्कृतिक सम्पदाहरु सम्बन्धी वृत्तचित्रहरुको औपचारिक तथा अनौपचारिक शिक्षाको माघ्यमबाट जातिय चिनारी, अभिलेखिकरण, अनुसन्धान, संरक्षण, सुरक्षा, प्रबर्द्धन, अभिमुखिकरण, हस्तान्तरण लगायत त्यस्ता सम्पदाको विविध पक्षहरुको पुन:जीवनीकरण कार्य गर्ने उद्देश्य अनुरुप यस वृत्तचित्र प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका सह अध्यक्ष संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको उद्‍घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका शाखा अधिकृत हितकाजी गुरुङ्ग ज्यूबाट कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै स्वागत मन्तब्य प्रस्तुत गर्नु भएको थियो । यसको लगतै प्रतिष्ठानद्वारा विगतमा यस अमूर्त संस्कृति सम्बन्धी वृत्तचित्र निर्माण कार्यमा सहयोग गर्ने निर्देशक तथा प्राविधिकहरुलाई प्रमाणपत्र तथा टोकन प्रदान गरेर सम्मान गरिएको थियो । 

प्रतिष्ठानका शा.अ. हितकाजी गुरुङ्गबाट प्रस्तुत गर्नु भएको कार्यक्रम उद्देश्य सम्बन्धी कार्यपत्र हेर्नका लागि यस लिङ्कमा क्लिक गर्नु होस् ।कार्यक्रमको औचित्य
सम्मानित हुनेहरुमा इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रु, बजार प्रमूख शैलेस कुमार डंगोल, अमृत सुनुवार, विजय जिरेल, खिम घले, चित्र बहादुर गुरुङ्ग, भिम राना, विश्वास राना, कृष्णजित राई, दाङिमा शेर्पा, रामशरण माझी, सञ्जोग लाफामगर, रजिला श्रेष्ठ, सिकुमा राई र एकराज चौधरी गरि जम्मा १५ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थामा वृत्तचित्र निर्माता श्री आदिवासी महिला कानूनी सहायता समूह (इनोलोग) का अध्यक्ष इन्दिरा श्रीस मगरलाई पनि सम्मान गरिएको थियो । 

सो अवसरमा प्रतिष्ठानले निर्माण गरेको अमुर्त संस्कृति सम्बन्धि १४ वटा बृत्तचित्र प्रदर्शनी गरिएको थियो । प्रदर्शित बृत्तचित्रहरुमा दोलखाका सुरेल जातिहरुको कुल पुजा सम्बन्धि चन पुजा, सर्लाही जिल्लाका दनुवार जातिहरुको नेमान पुजा, सुनसरीका झाँगड (उराँव) जातिको सामाजिक अनुष्ठान जतरा र करम, मोरङका गन्गाइ समुदायको पौराणिक नाच, देउराली तनहुँका भूजेलहरुको वायु पुजा, ताप्लेजुङ ओलाङचुङगोलाका वालुङ जातिको फुटुक पर्ब, संखुवासभाका याक्खा जातिको दोक्केनी नाच र सिन्धुलीका माझीहरुको लदी (कोशी) पुजा थिए । 

कार्यक्रममा प्रतिष्ठान बाहिर निर्माण भएका पाँचवटा बृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । प्रदर्शन गरिएका बृत्तचित्रहरुमा सञ्जोग लाफा मगर निर्देशित ‘सरकार भन्दा जेठो भूमि’, खिम घले निर्देशित ‘खासुर एक जिवित संग्रहालय’, एकराज चौधरी निर्देशित “थारु बैडावा ज्ञान”, सिकुमा राई निर्देशित ‘अरक चाना, वानाओ सिमा’ र रजिला श्रेष्ठ निर्देशित ‘चित्रापुरी नगर’ थिए । 

वृत्तचित्र प्रदर्शनी अन्तरगत प्रस्तुत गरिएका वृत्तचित्रहरुको विवरण हेर्नका लागि यस क्लिक गर्नु होस् । वृत्तचित्र प्रदर्शनी-२०७९ तालिका

वृत्तचित्र प्रदर्शनी कार्यक्रममा संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री राजेन्द्र कुमार श्रेष्ठ ज्यूले आदिवासीको सभ्यता तथा संस्कृति उन्नत रहेको र यो सम्पदाको संरक्षण गर्नू सबैको दायित्व भएको बताउनु भयो । उहाँले आदिवासी जनजाति समाजमा सूचिकरणको सवाल उठिरहेको पृष्ठभूमिमा भाषिक र जातीय  सूचि जारी गरेमा यो समस्या समाधान हुने बताउनु भयो ।यस प्रकार वृत्तचित्र प्रदर्शनीको माध्यमबाट सांस्कृतिक सम्पदाहरु प्रस्तुत गर्न सके यसको भिजिबिलिटि हुने र यसबाट हाम्रो संस्कृतिहरुको प्रबर्द्धन गर्न सहयोग पुग्ने बताउनु भयो ।   

यस कार्यक्रमका सभाअध्यक्ष प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तिमगर ज्यूले प्रतिष्ठानले यस अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी वृत्तचित्र प्रदर्शनी कार्यक्रमबाट आदिवासीका सवालमा सवैले आफ्नो स्थानबाट योगदान दिइरहेको बताउँदै आगामी यात्रा सुखद हुने विश्वास गर्नू भयो । 
कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, डब्लु.डब्लु.एफ नेपालका डा.घनश्याम गुरुङ्ग, माननीय रिना राना, डा.मिन सरण राई, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको उद्‍घोषण प्रतिष्ठानका शा.अ. राम कुमार मादेनले गर्नु भएको थियो ।त्यस्तै वृत्तचित्र प्रदर्शनीका लागि शा.अ. हितकाजी गुरुङ्ग र स.पा. दिलिप कुमार बास्केबाट प्रदर्शन गर्ने कार्य भएको थियो ।