प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकाल समाप्त बिदाई कार्यक्रम !

प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकाल समाप्त बिदाई कार्यक्रम !

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष श्री चन्द्र बहादुर गुरुङ्ग ज्यूको २०७७ बैशाख २६ गते र सदस्य सचिव श्री गोविन्दलाल माझीज्यूको २०७७ बैशाख २८ गते ४ वर्षे कार्यकाल पूरा भई औपचारिक रूपमा मिति: २०७७ बैशाख २९ गते, सोमबार प्रतिष्ठानको हल, सानेपा, ललितपुरमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारिणी सदस्यहरु, नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरु, परिषद सदस्यहरु तथा प्रतिष्ठानका कर्मचारीहरु बिदाई समारोहमा उपस्थिति रहेका थिए । कार्यक्रममा उपाध्यक्ष श्री चन्द्र बहादुर गुरुङ्ग ज्यूले ४ वर्ष अघि भरखरै नियुक्ति भएर प्रतिष्ठानमा आउँदा देखि नै नेपाल सरकारले विभिन्न समिति, प्रतिष्ठान आदि हटाउने निर्णय गर्दै आई रहेको हुँदा प्रतिष्ठान रहने नरहने सधै अन्योल भई रहेको बताउनु भयो । प्रतिष्ठानका सदस्य सचिव श्री गोविन्दलाल माझीज्यूले पनि प्रतिष्ठान यस्तो अन्योल अवस्थामा पनि हालसम्म टिकाई राख्न सकिएकोमा यसलाई उपलब्धि नै मानिएको बताउनु भयो । वहाँले प्रतिष्ठानमा आएर प्रशासनिक कार्य सम्हाल्नु पर्दा यसबाट पनि धेरै ज्ञानहरु सिक्ने अवसर पाएको बताउनु भयो । अन्त्यमा प्रतिष्ठानलाई अघि बढाउन कर्मचारीहरुमा भएका योग्यता र क्षमतालाई जिम्मेवारीपूर्वक अझ राम्ररी सदुपयोग गर्न पर्ने बताउनु भयो । कार्यकारिणी सदस्य श्री ज्ञानेन्द्र पुन ज्यूले पनि कार्यकारिणी समितिमा रही आफ्नो जिम्मेवारी निर्वाह गर्ने कार्यमा सधै पदाधिकारीहरुबाट समन्वय र सहयोग पाएको बताउनु भयो ।

अन्त्यमा यहाँहरुको जीवनमा अझ थप उन्नति, प्रगति र  सफलताको कामना गर्दै बिदाई कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिष्ठानमा नयाँ नेतृत्वका लागी उपाध्यक्ष, सदस्य सचिव र कार्यकारिणी सदस्य पदहरु रिक्त भई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुरुप पदपुर्ति गर्न मिति २०७७ बैशाख २३ गते बसेको प्रतिष्ठानको सञ्चालक परिषदको २०औं बैठकमा निर्वाचन प्रणालीबाट उपाध्यक्ष सिफारिस समितिमा १ सदस्य तथा कार्यकारिणी सिफारिस समितिमा ३ सदस्य परिषदबाट नियुक्ति भई सकेको छ ।