आ.ज.उ.रा.प्रतिष्ठानको ICHCAP अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी कार्यक्रम

आ.ज.उ.रा.प्रतिष्ठानको ICHCAP अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी कार्यक्रम

प्रस्तोता: शा.अ. हितकाजी गुरुङ (आ.ज.उ.रा.प्रतिष्ठान)

मिति: २०७४ पौष २२ गते, शनिबार यस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ICHCAP अमूर्त सांस्कृतिक सम्पदा अनलाइन प्रदर्शनी परियोजनाको लागी नेपालको नेवार समुदायमा पर्ने लाखे नाचको अध्ययन अनुसन्धान, फोटो संकलन तथा अडियो भिडियो छायाङ्कन गरी वेभसाइट मार्फत प्रदर्शनी गर्न तयार पारिएको सामग्री तथा प्रतिवेदनलाई अन्तिम रूप दिन नेवार आदिवासी जनजाति संस्था “नेवा देय दबु:” र प्रतिष्ठानको प्रतिनिधि, पदाधिकारी र कर्मचारी बिच बैठक बसेको थियो । यस कार्य गर्न मिति : २०७४ भदौ ०८ गते, बिहिबार “नेवा देय दबु:” र प्रतिष्ठानको प्रतिनिधिहरु बैठक बसी यस कार्य गर्न पूर्व स्वीकृति तथा सहमति जनाईएको थियो ।

यस कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदा लाखे नाच सम्बन्धी तयार परिएका सामग्री सम्बन्धी प्रस्तुती, छलफल, राय सल्लाह, सुझावका लागी नेवार समुदायका लाखे सम्बन्धी कार्य गर्ने अभ्यासकर्ता, संरक्षक, गुठियार, लेखक, रचनाकार र अन्य समुदायका संस्कृति सम्बन्धी सरोकार व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम प्रतिष्ठानका तर्फबाट अनुगमन अधिकृत श्री जगतमान गुरुंङ्ले उपस्थित सहभागीहरुलाई स्वागत गर्दै उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको शुरुमा परिचायात्मक प्रस्तुती पछी प्रतिष्ठानका श्री हितकाजी गुरुङबाट अमूर्त सांस्कृतिक सम्पदा लाखे नाच सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सम्बन्धित जातिय संस्थाका सहभागीहरुबाट कार्यपत्र तयारीका क्रममा भएका त्रृतिहरुमा भाषा शुध्दीकरण तथा विषयवस्तु माथि अझ प्रष्ट पार्ने कार्य भयो । सहभागीहरुबाट छलफलमा उत्साहपूर्व र जिज्ञासापूर्ण भई सक्रिय रूपमा संलग्न भएका थिए । प्रस्तुत कार्यपत्रलाई स्तरिय बनाउन अझ यसलाई सुधार र संशोधन गर्न पर्ने आवश्यकता महशूस गरी सहभागीहरुले सुझावहरु एक हप्ता भित्र नेवा देय दबु: नेवार जातिय संस्थाका अध्यक्ष श्री नरेश ताम्राकार ज्यूलाई कार्यालयमा पेश गर्ने निर्णय गरियो ।

बैठकको दोस्रो चरणमा लाखे नाच सम्बन्धी ईण्डिजिनस टेलिभिजन प्रा.लि., अनामनगर, काठमाडौबाट तयार पारिएको अडियो भिडियो डकुमेन्ट्री प्रस्तुत गरियो । डकुमेन्ट्रीमा विभिन्न व्यक्तित्वहरु सँगको अन्तरर्वाता समावेश नगरिएको तथा यसमा निकै कुराहरु सुधार गर्न पर्ने देखिएको सहभागिहरुबाट प्रतिक्रिया जनाऊनु भयो । भिडियो डकुमेन्ट्रि पछी अनलाईन प्रदर्शनीको लागी तयार पारिएको ईन्द्र जात्रामा नचाईने माजिपा लाखे नाचको फोटो प्रदर्शनी तथा caption हरु सम्बन्धी छलफल, सरसल्लाह तथा सुझावहरु संकलन गर्ने कार्य गरियो ।

कार्यक्रमको अन्त्यमा नेवार आदिवासी जनजाति संस्था “नेवा देय दबू:” बाट यस नेवारहरुको अमूर्त सांस्कृतिक सम्पदा लाखे नाच सम्बन्धी अध्ययन अनुसन्धान गरी यूनेस्को महासन्धी २००३ अनुसार यसको संरक्षण, सम्बर्ध्दन र हस्तान्तरण गर्न वस्तु सुचीकरण गरी यूनेस्कोमा दर्ता गर्न राज्यले पहल गर्न पर्ने बताऊनु भयो । नेपाल पनि यस यूनेस्को महासन्धी २००३ को पक्ष राष्ट्र भएको हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, यूनेस्को अफिस काठमाडौ, प्रतिष्ठान तथा अन्य सरकारी/ गैर सरकारी संघसंस्थाहरु नेपालको लोप हुन लागेका अमूर्त संस्कृति सम्पदाहरुको जगेर्ना गर्न लागी पर्नु पर्ने बताउनु भयो । विगतमा नेपालमा यस सम्बन्धी विभिन्न संघसंस्थाहरुबाट आ-आफ्नै पहलमा धेरै कार्यहरु भएता पनि अन्तराष्ट्रिय संस्था यूनेस्को को ढाँचामा प्रतिवेदन तथा डकुमेन्टेशन नभएको कारण यसको वस्तुसूचिकरणमा एकरुपता नभएको, यसको सामान्य र सहज ढंगबाट सर्वसाधरणले प्राप्त हुन नसकेको र यसलाई व्यवस्थित ढंगबाट संरक्षण गर्न नसकिएको तथा जनमानसमा यस सम्बन्धी जनचेतनाको कमीले कतिपय अमूर्त सांस्कृतिक सम्पदाहरु लोप भएर जाने सम्भवना भएको हुँदा समय मै सबैले मिलेर यस नेपालको धरोहर अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बर्ध्दन तथा प्रबर्ध्दन गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्दै जान आजको विशेष आवश्यकता रहेको छ । अन्त्यमा यस कार्यक्रममा प्रतिष्ठानव्दारा तयार परिएका कार्यपत्र तथा सामग्रीहरु माथि सम्बन्धित सरोकार नेवार समुदायबाट अमूल्य सल्लाह सुझाव दिई सहयोग गर्नु भएकोमा सम्पर्ण सहभागीहरुलाई धेरै धन्यवाद तथा कृतज्ञता ब्यक्त गर्नु भयो । त्यस्तै गरि यस कार्यक्रममा सहयोग गर्नु हुने नेवा देय दबू:का अध्यक्ष नरेश ताम्राकार ज्यू, प्रतिष्ठानका अधिकृत सरिना गुरुङ, मनमाया थापामगर र हितकाजी गुरुङलाई पनि धन्यबाद दिदै यस कार्यक्रम उत्साहजनक, सूचनामूलक तथा अन्तरक्रियात्मक भएकोले अपेक्षा गरिएको भन्दा निकै उपलब्धीमूलक भएको भन्दै श्री जगतमान गुरुङले कार्यक्रम सफलताका साथ सम्पन्न भएको घोषणा गर्नुभयो ।