Orientation Program to NFDIN Staff !!

Orientation Program to NFDIN Staff !!

मिति: २०७८ साउन ०४ गते, सोमबार

  • शा.अ. हितकाजी गुरुङ्ग / आ.ज.उ.रा.प्रतिष्ठान

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई वृत्ति विकास कार्यक्रम अन्तरगत मिति: २०७८ साउन ०१ र ०२ गते प्रतिष्ठानका कर्मचारीहरुलाई सकारात्मक सोच र काम कर्तब्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम काभ्रे, धुलिखेलमा सञ्चालन गरिएको थियो ।  

उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल घर्तिमगर, सदस्य सचिव श्री कमल प्रसाद राजवंशी, निवर्तमान कार्यकारिणी सदस्य श्री ज्ञानेन्द्र पुन, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वरिष्ठ उप सचिव श्री बाबुराम भुसाल लगायत सम्पूर्ण प्रतिष्ठानका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्‍घाटन प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल घर्तिमगर ज्यूबाट कार्यक्रमको ब्यानर अनावरण गरेर गर्नु भएको थियो । त्यसको लगतै वहाँबाट उपस्थित सबैलाई स्वागत मन्तब्य दिनु भएको थियो । वहाँले कर्मचारीहरु सेवा प्रवेश गर्दा नै कार्यालयको काम, कर्तब्य र जिम्मेवार वा सेवाकालिन तालिम तथा अभिमुखिकरण गर्ने प्रचलन रहेको र समय समयमा कर्मचारीहरुको मनोबल तथा कार्य क्षमता बृद्धि गर्न तालिमको आवश्यकता रहेको बताउनु भयो । यस प्रकारका कार्यक्रमबाट कार्यालय सञ्चालन तथा कर्मचारीहरुबाट सेवा प्रदान गर्ने क्रममा सहयोग पुग्ने विश्वास गरेको छु भन्नु भयो ।

कार्यक्रमका प्रशिक्षक संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वरिष्ठ उप सचिव बाबुराम भुसाल ज्यूले “ नेपालमा सामाजिक समावेशीकरण र लैंगिक उत्तरदायी शासन प्रणाली: नीति कानून र संस्थागत ब्यवस्था” विषयक आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । वहाँले शिक्षा र तालिमको सिकाईबाट सोंच, ब्यवहार र प्रवृतिमा सकारात्मक सोंच हुने र आफ्नो लक्ष्य, उद्देश्य प्राप्त गर्न सकिने बताउनु भयो । वहाँले नेपालको अन्तरिम संविधान २०६२, नेपालको संविधान २०७२, अन्तर्राष्ट्रिय संघसंस्थासँग भएको राज्यको प्रतिबद्धता र सम्झौताहरु, १५औं पञ्चवर्षिय निति तथा मार्गदर्शन, राज्यको समावेशिकरण निति आदिले सबैको सर्वाङ्गिनी विकास तथा सम्बृद्धि होस भनी सामाजिक समावेशीकरण र लैंगिक उत्तरदायी शासन प्रणाली: नीति कानून र संस्थागत ब्यवस्था गरिएको छ । राज्यले स्थानीय तह सञ्चालन कार्यविधि अन्तरगत विपन्न वर्गको पहिचान गरी शिक्षा, स्वास्थ्य, सुरक्षा, गासबास कपास र रोजगारीको ब्यवस्थाको दायित्व लिनु पर्दछ । त्यस्तै गरी जनता पनि राज्य प्रति कर्तब्य निष्ठावान हुनु पर्दछ । त्यस्तै गरी दिगो विकासको लागि क्षेत्रगत नितिहरु तथ्यमा आधारित शासन प्रणाली, स्थानीय सरकार सञ्चालन ऐन २०७४ आदिको बारेमा विश्लेषण गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रशिक्षक ज्यूबाट समूहगत खेल खेलाइएको थियो ।

कार्यक्रमको दोस्रो दिन मिति: २०७८ साउन ०२ गते शनिबार प्रतिष्ठानका कार्यकारिणी सदस्य तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव श्री वसन्त अधिकारी ज्यूबाट सकारात्मक सोंच सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । मानिसको दृष्टिकोण र ब्यवहारले नै सकारात्मक सोच छ छैन भन्ने देखाउँदछ । सकारात्मक सोचका लागी ५ तत्वहरुको आवश्यक हुन्छ । ती हुन: १) निद्रा २) शरिरमा भिटामिन डी को मात्रा ३) ओमेगा (आलस) ४) शरिरलाई चाहिने अक्सिजन ५) शारिरीक ब्यायाम । मानिसले आफ्नो जीवन कसरी जीउने भनी दीर्घकालिन योजना पनि बनाउन आवश्यक छ ।मानिसले सकारात्मक सोच र प्रवृत्तिले नै उसको सफलतालाई निर्धारण गर्दछ । मानिसमा आफुले आफ्नो कमी कमजोरी नदेख्ने र अरूलाई मात्र दोषारोपन गर्ने स्वभाव हुन्छ । यसरी परिवर्तन भनेको आफैबाट शुरु गर्नु पर्दछ । ‘क’ बाट नभई ‘ज’ बाट शुरु गर्नु पर्दछ । किन, कसरी, कहाँ भन्दा पनि जसरी, जे जहाँ भए पनि गर्छु भन्ने सोच भए लक्ष्य पुरा गर्न सकिन्छ । तालिमको अन्त्यमा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल घर्तिमगर ज्यूले यस सकारात्मक सोच तालिमबाट प्रतिष्ठानका कर्मचारीहरुले आफ्नो कार्य क्षेत्रमा पनि सकारात्मक प्रभाव ब्यवहारमा उतार्ने छन् भनी विश्वस्त रहेको भन्दै तालिम कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

कार्यक्रमको दोस्रो शत्रमा आदिवासी जनजाति समुदायहरु भित्रको आन्तरिक समस्या तथा जटिलताहरु र यसको सामाधान सम्बन्धी डा. ओम गुरुङ्ग र डा. कुन्साङ लामाको कार्यपत्र सहित अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो ।