NFDIN's 20th Establishment Day !!

NFDIN's 20th Establishment Day !!

NFDIN's 20th Establishment Day Program !!(7th Feb, 2021)                                                                      - (Hitkaji Gurung, Section Officer, NFDIN)

नेपाल सरकार आदिवासी जनजाति राष्ट्रीय प्रतिष्ठानको २० औ स्थापना दिवस २०७७/१०/२५ गते आइतबार कार्यालय कै प्राङ्गण बल्खु, सानेपा,ललितपुरमा एक कार्यक्रमका बिचमा सम्पन्न गरिएको छ ।

प्रतिष्ठानको उपाध्यक्ष गोकुल प्रसाद घर्ती ज्युको अध्यक्षता मा भएको कार्यक्रमको समुद्घाटन सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा आ.ज.उ.राष्ट्रिय प्रतिष्ठानको सह अध्यक्ष माननीय गणेश सिंह ठगुन्नाले गर्नुभएको थियो । अतिथिज्यूहरुलाई खादा अर्पण गरी कार्यक्रमको शुरुवातमा राष्ट्रिय गान लगतै माननीय मन्त्री ठगुन्ना ज्यूबाट पानसमा दियो प्रज्वलन गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्ती ज्यूबाट प्रतिष्ठानको विगतमा भन्दा बजेट तथा कार्यक्रमहरु संकुचित हुदै गएको र सिमित बजेटबाट सिमित कार्यक्रमहरु मात्र गर्न सकिएको अवस्था रहेको बताउनु भयो । प्रतिष्ठानको कार्य क्षेत्र बृहत भएता पनि सो अनुरुप नेपाल सरकारबाट बजेट उपलब्ध नहुने हुँदा यसको लागी सरकारले ध्यान पुरयाईदिन हुन आग्रह गर्नु भयो । दुई दशक अघि प्रतिष्ठान स्थापनाकालमा बनेका ऐन नियमहरु अन्य सरकारी निकाय/संघसंस्थाहरुको संगठनात्मक संरचना अनुसार तयार भएको भएता पनि बर्तमान बदलिदो परिप्रेक्षमा समय सापेक्ष गर्दै प्रतिष्ठानका ऐन नियमहरु पनि संशोधन गर्दै लान पर्ने वहाँले बताउनु भयो । नेपालका आदिवासी जनजाति सम्बन्धी जति पनि कार्यक्रमहरु यसै नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान मार्फत नै सहकारी र साझेदारीमा हुन सके अझ प्रभावकारी हुने वहाँले बताउनु भयो । यसको साथै प्रतिष्ठानले वितरण गर्दै आएको आदिवासी जनजाति सिफारिस प्रमाण पत्र नेपाल सरकारको आदिवासी जनजाति सम्बन्धी हेर्ने एक मात्र निकाय यही प्रतिष्ठान नै भएको हुँदा यसबाट प्रदान गरिएको सिफारिसलाई नै मान्यता दिन पर्नेमा जोड दिनु भयो । यसो नहुँदा सेवाग्राहीहरुले विभिन्न समस्याहरु झेल्न परेको वहाँले बताउनु भयो ।  

समुद्घाटन मन्तव्य राख्दै माननीय मन्त्री ठगुन्ना ज्युले यस आर्थिक वर्षको बजेट बिनियोजन तथा कार्यक्रमहरु सञ्चालन भै सकेको भएता पनि अब आगामी वर्षका लागि प्रतिष्ठानले आवश्यकता र प्राथमिकताका साथ कार्यक्रमहरु तय गरी त्यसै अनुरुप थप बजेट बिनियोजन गर्न मन्त्रालयले सहयोग गर्ने बताउनु भयो । त्यसै गरि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपाल सरकारले स्थापना गर्नुको मूल उद्देश्यानुरुप देशलाई समृद्धी नेपाल सुखी नेपाल निर्माणको लागी नेपालका आदिवासी जनजातिहरुलाई मूलधारमा ल्याउन पर्ने भएको हुदा त्यसै अनुरुप मन्त्रालयले पनि पिछडिएको विपन्न समुदायका लागि कार्य गर्न भरपुर सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझी ज्यूले शुभकामना मन्तब्यको क्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो परिषद सदस्यमा यसपाली सात प्रदेशबाट १४ महिला सदस्यहरु नियुक्ति गर्नु भएकोमा यसमा राम्रो कामको थालनी भएको बताउनु भयो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ आदिवासी जनजाति महिलाहरुको निम्ति प्रतिष्ठानसँग सधै सहकार्य गर्दै जान तयार रहेको पनि बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझि, शान्ति देवान, आ.ज.विधार्थी महासंघका अध्यक्ष चन्द्र चौधरी, आ.ज.यूवा महासंघ नेपालका उपाध्यक्ष कुमार प्रधान, आ.ज.अपाङ्ग महासंघका अध्यक्ष खड्ग सारु प्रतिष्ठानका निवर्तमान कार्यकारिणी सदस्यहरु टासी स्याङ्बो गुरुङसेनी तथा ज्ञानेन्द्र पुन र प्रतिष्ठानका सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कर्मचारी युनियनका अध्यक्ष राम कुमार मादेन जीले प्रतिष्ठानमा दुई दशक भन्दा अगाडी देखि कार्यरत कर्मचारीहरुको वृत्ति विकास तथा बढुवा प्रकृया सम्बन्धी समस्या सुल्झाउन विनियामावली संशोधन प्रकृया अविलम्ब गर्न पर्ने बताउनु भयो । यसको लगतै प्रतिष्ठानको २०औं स्थापना दिवसको अवसरमा कर्मचारी युनियनद्वारा सञ्चालित आन्तरिक कर्मचारी ब्याडमिन्टन प्रतियोगिताका बिजेता टिमहरुलाई मन्त्री ज्यू र उपाध्यक्षको बाहुलीबाट ट्रफी पुरस्कार प्रदान गर्ने कार्य भयो ।  

कार्यक्रमको समापन गर्दै उपाध्यक्ष गोकुल प्र.घर्ती ज्युले उपस्थित प्रमुख अतिथि, अतिथिगणहरु, कर्मचारी, पत्रकार मित्र तथा सहयोगीहरु सबैलाई यस कार्यक्रम सफल पार्न  सहयोग गरी दिनु भएकोमा धन्यवाद सहित आभार ब्यक्त गर्नुभएको थियो ।

यस कार्यक्रम सञ्चालन प्रतिष्ठानका निमित्त योजना प्रमुख दिवस राईले गर्नुभएको थियो ।