Civil Service Preparation Class Program (F/Y2021/22) !!

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सरकारी सेवा प्रवेश कार्यक्रम अन्तरगत लोकसेवा तयारी कक्षा सञ्चालन कार्यक्रम (आ.व. २०७८/०७९)

पिछडिएका आदिवासी जनजातिहरुको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, भाषिक तथा राजनीतिक परिप्रक्षमा समान अवसर तथा उत्थानका निम्ति आ.ज.उ.रा.प्रतिष्ठानद्वारा विभिन्न कार्यक्रमहरु विगत दुई दशक देखि गर्दै आई रहेको मध्ये पछिल्लो दशकमा प्रतिष्टानद्वारा आदिवासी जनजातिहरुका लागि सरकारी सेवा प्रवेश लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आईरहेको छ । आदिवासी जनजाति यूवा यूवतीहरुमा पनि रोजगारीको अवसरबाट वञ्चित नहोऊन भनी लोकसेवा आयोगद्वारा लिईने सरकारी सेवा प्रवेश परीक्षामा प्रतिस्पर्धी ढंगबाट तयार भई राज्यको विभिन्न ईकाई, विभाग, मन्त्रालय तथा कार्यालयहरुमा दक्ष जनशक्तिका रुपमा रहेर देशको सेवा गर्ने सकून भन्ने हेतुले यो कार्यक्रम प्रतिष्ठानको एक महत्वपूर्ण कार्यक्रम रहेको छ ।

विगत केही वर्ष यता सरकारी सेवा प्रति युवायुवतीको बढ्दो आकर्षण तथा आफ्नो योग्यता र क्षमता अभिवृद्धि गर्दै निजामति सेवाको माथिल्लो तहसम्म जान प्रतिस्पर्धी रहन आवश्यक ठानेको हुँदा यो लोकसेवा पूर्व तयारी कक्षाहरु प्रति बढी भन्दा बढी यूवायूवतीहरु प्रोत्साहित भएको पाइन्छ । यस अवस्थालाई मध्य नजर गर्दै गत आ.व.२०७७/०७८ मा विश्वभर फैलिएको कोरोना भाईरस संक्रमणका कारण प्रतिष्ठानले यो कार्यक्रम गर्न नसकिएता पनि यस आ.व.२०७८/०७९ मा यस कार्यक्रमलाई निरन्तरताका साथ अघि बढाई सञ्चालन गर्ने निर्णय गरियो ।

लोकसेवा तयारी कक्षा सञ्चालन गर्न इच्छुक संस्थआ फर्म तथा कम्पनीहरुलाई आशयपत्र माग गर्ने तथा यस प्रशिक्षण कक्षामा सहभागी हुन योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि मिति: २०७८/०८/०३ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा २१ दिने सार्वजनिक सूचना आह्वान गरिएको थियो । विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसबाट बच्न सुरक्षाका मापदण्ड तथा भौतिक दुरी कायम गर्ने र भिडभाड नगर्ने, हात साबुनले धुने, स्यानिटाइजर र मास्कको प्रयोग गर्ने आदि पालना गर्नु पर्ने हुँदा प्रतिष्ठानद्वारा कार्यालयमा भिडभाड हुन नदिनका लागि फाराम वितरण र भर्न तथा आवेदन शुल्क बुझाउन कम्प्युटर वा मोबाइलको माध्यमबाट अनलाइन सिष्टमको निर्माण तथा विकास गरिएको थियो । अनलाइन मार्फत आवश्यक कागजातहरु तथा आवेदन संकलन कार्य गरी दर्ता भएका आवेदकहरुलाई प्रवेश पत्र वितरण गरिएको थियो । लोकसेवा तयारी कक्षामा सहभागी हुन आवेदन र कक्षा सञ्चालन गर्न इच्छुक संस्थाहरुको आशय पत्र संकलन गर्ने अन्तिम मिति: २०७८/०८/२३ गते बिहीबार सम्म शाखा अधिकृत र नायब सुब्बा गरी जम्मा ५०६ वटा आवेदनहरु प्राप्त भएको थियो । त्यस्तै सो मिति भित्र तयारी कक्षा सञ्चालन गर्ने इच्छुक संस्थाहरुबाट जम्मा ०४ वटा आशय पत्रहरु प्राप्त भएको थियो ।

प्रतिष्ठनद्वारा शाखा अधिकृत र नायब सुब्बा स्तरको छनौट परीक्षा मिति: २०७८/०८/२५ गते शनिबार श्री ल्याबोरेटोरी उच्च मा.विधालय, किर्तिपुर, काठमाडौमा सञ्चालन गरिएको थियो । शाखा अधिकृत स्तरको परीक्षा सञ्चालन बिहान १०:३० बजे देखि १२:०० बजे सम्म (१ घण्टा ३० मिनेट) तथा नायब सुब्बाको परीक्षा ०१:०० बजे देखि ०१:४५ बजे सम्म (४५ मिनेट) सञ्चालन गरिएको थियो । उक्त दुई वटा शत्र गरी परीक्षा श्री ल्याबोरेटोरी उच्च मा.विधालयको ७-८ वटा कक्षा कोठाहरुमा सञ्चालन गरिएको थियो । यस परीक्षा सञ्चालनका लागि सुपरिक्षकको भूमिका प्रतिष्ठानका कर्मचारीहरुबाट निर्वाह गरिएको थियो ।

लोकसेवा छनौट परीक्षाका लागि शाखा अधिकृत र नायब सुब्बा स्तरको प्रश्नावलीहरु तयार पार्न उक्त विषयविज्ञलाई जिम्मेवारी दिइएको थियो । सोही अनुसार प्रश्नावली र उत्तरपुस्तिकाहरु पनि आवेदकहरुको संख्या अनुसार ५०६/५०६ प्रति तयार पारिएको थियो । प्रतिष्ठानद्वारा मिति: २०७८/०८/२५ गते शनिबार शाखा अधिकृत र नायब सुब्बा स्तरको परीक्षाको नतिजाहरु मशिन रिडेबल सिष्टमबाट उत्तरपुस्तिका चेकजाँच गरिएको थियो । यसबाट छिटो छरितो हुने, समय बचत हुने, त्रृटीहरु कम हुने र बढी पारदर्शीता हुने हुँदा यो विधिद्वारा उत्तरपुस्तिका चेकजाँच गरिएको थियो । उत्तरपुस्तिका चेकजाँचबाट परीक्षार्थीहरुको प्राप्ताङ्क र र्‍याङ्किङ प्राप्त भए लगतै प्राप्ताङ्क र समावेशीताको आधारमा लक्ष्य अनुसार शाखा अधिकृतमा ८० जना र नायब सुब्बामा १५० जना प्रशिक्षार्थीहरु छनौट गरी मिति: २०७८/०८/२८ गते छनौट परीक्षाको नतिजा प्रकाशन गरिएको थियो । छनौट नामावलीमा परेका प्रशिक्षार्थीहरुलाई प्रतिष्ठानमा सम्पर्क गरी धरौटी रकम (फिर्ता हुने) बुझाउन र भर्ना प्रवेश पत्र (Admit Card) लिन कार्यालयमा सम्पर्क गर्न सूचना गरिएको थियो ।

यसै गरी लोकसेवा तयारी कक्षा सञ्चालन गर्न इच्छुक रितपूर्वक प्रतिष्ठानमा प्राप्त भएका ०४ वटा आशयपत्रहरु मिति: २०७८/०८/२६ गते जिल्ला प्रशासन कार्यालय, ललितपुर, कोष तथा लेखा नियन्त्रकको कार्यालय, ललितपुर, आशय पत्र पेश गर्ने संस्थाका प्रतिनिधिहरु र प्रतिष्ठानको लोकसेवा तयारी कक्षा सञ्चालन समितिका सदस्यहरुको उपस्थिति र रोहवरमा उक्त आशय पत्रहरु खोल्ने कार्य भएको थियो । उक्त आशयपत्रहरुको प्राविधिक प्रस्तावहरुको अध्ययन गरी मुचुल्का र टिपोट गरी प्रतिष्ठानको मूल्याङ्कन समितिलाई थप प्रक्रियाका लागि पठाइने निर्णय गरिएको थियो । मूल्याङ्कन समितिले संस्थाहरुको स्थलगत अध्ययन, निरिक्षण र आर्थिक प्रस्तावहरु हेरी अङ्कभार मार्फत छनौटका लागि पेश गरिएको थियो ।

प्रतिष्ठानको मूल्याङ्कन समितिको मिति: २०७८/०९/११ गतेको निर्णय बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने श्री नर्सिङ्ग प्लस् प्रा.लि., पुतली सडक, काठमाडौलाई आ.व. २०७८/०७९ को लोकसेवा तयारी कक्षा सञ्चालन गर्नका लागि छनौट गर्ने निर्णय गरिएको थियो । सोही सिफारिसको आधारमा श्री नर्सिङ्ग प्लस् प्रा.लि. लाई छनौट भएको सम्बन्धी जानकारीको लागि पत्राचार गरिएको थियो । यस प्रतिष्ठान र श्री नर्सिङ्ग प्लस् प्रा.लि. को आयोजना र समन्वयमा मिति: २०७८/०९/१४ गते, बुधबार लोकसेवा पूर्व तयारी कक्षाको अभिमुखिकरण तथा उद्‍घाटन कार्यक्रम नेम भवन, पुतली सडक, काठमाडौमा प्रतिष्ठानका पदाधिकारीहरु, समितिका सदस्यहरु, नर्सिङ्ग प्लस् प्रा.लि. का कार्यक्रम निर्देशक, प्रशिक तथा प्रशिक्षार्थीहरुको सहभागितामा सञ्चालन भएको थियो । उक्त कार्यक्रमको शुरुवातमा अतिथिहरुबाट आशन ग्रहण गरी राष्ट्रिय गानबाट प्रारम्भ भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य तथा शुभकामना दिन प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्तिमगर ज्यूले सहभागी भाई बहिनीहरुलाई सर्वप्रथम प्रतिष्ठानद्वारा सञ्चालित छनौट परीक्षाबाट यस कार्यक्रमका लागि छनौट हुन सफल भएकोमा बधाई दिदै प्रतिष्ठानले यहाँहरु प्रति राज्य र प्रतिष्ठानको लगानी परेको अवगत गराउनु भयो । यसको लागि प्रशिक्षार्थीहरुले मिहिनेत गरी नतिजा निकाल्ने प्रयास गर्नु पर्छ भन्नु भयो । त्यसै गरी प्रतिष्ठानको सदस्य सचिव श्री कमल प्रसाद राजवंशी ज्यूबाट पनि सहभागीहरुलाई शुभकामना तथा बधाई दिनु भयो । लोकसेवा तयारी अध्ययन निर्देशिनका लागि श्री नर्सिङ्ग प्लस् प्रा.लि.का वरिष्ठ प्रशिक्षकज्यू नेपाल सरकारका सहसचिव श्री चुडामणी शर्माद्वारा प्रशिक्षार्थीहरुलाई आफ्नो समयको प्रभावकारी ढंगबाट ब्यवस्थापन गर्नु पर्ने, कक्षामा पढाएका विषयवस्तुहरुको दोहार्‌याई तेहर्‌याई अभ्यास गर्नु पर्ने बताउनु भयो । लोकसेवाको परीक्षाको ढाँचा धेरै भन्दा धेरै विषयवस्तु र पुस्तकहरु पढ्नु पर्ने तर प्रश्नावलीहरु सोको तुलनामा कम मात्र छानिएर आउने हुँदा प्रश्न उत्तरहरु विचार गरेर अध्ययन गर्नु पर्ने बताउनु भयो । यसको साथै नर्सिङ्ग प्लस् प्रा.लि.ले प्रशिक्षकहरुको गुनासो, समस्या आदि कुनै भए सकभर समाधान गर्ने प्रयास गर्नेछ भन्नु भयो । त्यस्तै यस संस्थामा आफू शुरु देखि नै निकै पुरानो प्रशिक्षक रहेको र यस संस्थाको ब्यवस्थापन पक्ष पनि निकै सवल रहेको बताउनु भयो । यस बाहेक प्रशिक्षण दिने समय बिहान र बेलुका मात्र भन्दा दिनको समयमा पनि गर्न सके अझ राम्रो हुने भनी आफ्नो राय ब्यक्त गर्नु भयो ।

यस पछी श्री नर्सिङ्ग प्लस् प्रा.लि.का कार्यक्रम निर्देशक श्री माधव पाण्डे ज्यूले प्रशिक्षार्थीहरुलाई तयारीको लागि समय कम रहेको र कम समयमा धेरै मेहेनत गर्नु पर्ने भएकोले प्रशिक्षार्थीहरुले नियमित समय भन्दा केही बढी समय कक्षालाई दिन पर्ने बताउनु भयो । प्रशिक्षार्थीहरु अनुसासित भई कक्षामा नियमित हुर्नु पर्ने र आफ्नो लक्ष्य हासिल गर्न लगनशील र मिहिनेत गरी पढ्नु पर्ने बताउनु भयो । वहाँले प्रतिष्ठानबाट छनौट गरी यस संस्थामा अध्ययनको अवसर दिईएका प्रशिक्षार्थीहरु सरकारी सेवामा प्रवेश गरेको देख्न पाओस् भनी कामना गर्नु भयो ।  

यस अभिमुखिकरण तथा उद्‌घाटन कार्यक्रम प्रतिष्ठानका शाखा अधिकृत श्री हितकाजी गुरुङ्गद्वारा सञ्चालन गर्नु भएको थियो । कार्यक्रम अधिकृतको रुपमा वहाँले प्रतिष्ठानको यस लोकसेवा तयारी कक्षा कार्यक्रम सम्बन्धी प्रशिक्षार्थीहरुलाई जानकारी गराउनु भयो । नेपालको अन्तरिम संविधान २०६३ मा आरक्षण ब्यवस्था भए लगतै वि.सं.२०६४ साल देखि आरक्षण कोटा प्रणालीमा पिछडिएका वर्गहरु समाहित भई आदिवासी जनजाति, दलित, मुश्लिम, महिला आदि समूहलाई आरक्षण कोटाको ब्यवस्था लागू गरिएको थियो । लोकसेवा तयारी कक्षाबाट समावेशी कोटाका लागि मात्र नभई प्रतिस्पर्धी ढंगले खुलामा पनि आदिवासी जनजातिहरु सरकारी सेवा प्रवेशका लागि मिहिनत गर्नु पर्दछ । प्रतिष्ठानले २०६६/६७ साल देखि नै यो कार्यक्रम सञ्चालन गर्दै आई रहेको बताउनु भयो । हाल सम्म धेरै यूवायूवतीहरु यस कार्यक्रमबाट लाभान्वित भएको पनि बताउनु भयो । आदिवासी जनजातिहरु सरकारी सेवामा प्रवेश गरी देशको सेवामा जुट्नु सके प्रतिष्ठानले पनि आफूले गरेका यस प्रकारका प्रयास तथा कार्यक्रमहरुबाट उपलब्धी भएको महशुस हुने बताउनु भयो ।

अन्त्यमा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल घर्ति मगर ज्यूबाट अनुमति लिदैं यस कार्यक्रम जानकारमूलक तथा उपलब्धीमूलक रहेको र उपस्थित सबैलाई फेरी पनि हार्दिक बधाई तथा उत्तरउत्तरको कामना गर्दै यस कार्यक्रम सफलतापूर्वक सञ्चालनका लागि सहयोग गर्नु भएका प्रतिष्ठानका शाखा अधिकृत श्री हितकाजी गुरूङ्ग लगायत सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।